कैलाली— कैलालीको घोडाघोडी नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा जाँच शिविरमा मोतियाबिन्दुको समस्या देखिएको छ। शिविरमा जाँच गरिएका ३८४ जनामध्ये ७५ जनामा मोतियाबिन्दु पहिचान भएको आयोजकले जनाएको छ।
नेपाल नेत्रज्योति सङ्घ अन्तर्गतको गेटा आँखा अस्पतालद्वारा घोडाघोडी–१ सुख्खडमा आयोजना गरिएको उक्त शिविरमा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो। अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक तथा वरिष्ठ नेत्र अधिकृत रमेशचन्द्र भट्टका अनुसार मोतियाबिन्दु देखिएका सबै बिरामीको गेटा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने व्यवस्था मिलाइएको छ।
उनले आइतबार र बिहीबार शल्यक्रिया गरिने जानकारी दिँदै बिरामीलाई सुख्खडबाट अस्पतालसम्म ल्याउन निःशुल्क यातायातको सुविधा समेत उपलब्ध गराइएको बताए।
नेपाल नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्दले ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारीः आँखा सेवामा साझेदारी’ भन्ने नारासहित सङ्घले देशका दुर्गम तथा सेवा पहुँचबाट टाढा रहेका समुदायलाई लक्षित गर्दै नियमित रूपमा आँखा शिविर सञ्चालन गर्दै आएको जानकारी दिए। आर्थिक तथा भौगोलिक कठिनाइका कारण उपचारबाट वञ्चित नागरिकसम्म सेवा पुर्याउनु सङ्घको मुख्य उद्देश्य रहेको उनले बताए।
सङ्घका कार्यकारी निर्देशक डा। शैलेशकुमार मिश्रका अनुसार हालसम्म देशका ६७ जिल्लामा स्थायी आँखा उपचार संरचना स्थापना भइसकेको छ भने ७७ वटै जिल्लामा आँखासम्बन्धी सेवा विस्तार गरिएको छ।
सङ्घले स्थापना कालदेखि सन् २०२४ को अन्त्यसम्म २८ वटा आँखा अस्पताल र २२६ वटा आँखा उपचार केन्द्रमार्फत नेपालसहित विभिन्न देशका गरी चार करोड ६८ लाखभन्दा बढी नागरिकलाई आँखा उपचार सेवा प्रदान गरिसकेको जनाएको छ। यस अवधिमा ५३ लाखभन्दा बढीको आँखाको शल्यक्रिया सम्पन्न भइसकेको सङ्घले जानकारी दिएको छ।





































