म्याग्दी— म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको काम ढिलाइ भइरहेको छ। तीन पटक म्याद थपिसक्दा पनि हालसम्म भवनको भौतिक प्रगति ६० प्रतिशतमात्र सम्पन्न भएको छ।
विसं २०७८ मा चार करोड ७९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको पाँच श्यया क्षमताको अस्पताल भवन २०७९ असारमै सम्पन्न हुनुपर्ने थियो। तर गत साउनदेखि निर्माण कार्य रोकिएको छ।
मुख्य भवनको ढलान सकिए पनि फिनिसिङको काम सुरु हुन सकेको छैन। स्थानीय जनप्रतिनिधिले ठेकेदारलाई ताकेता गरिएको र आवश्यक परे धरौटी जफत तथा कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाउने बताएका छन्।
निर्माण कम्पनीले बजेट उपलब्ध भए चालु आर्थिक वर्षमै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।






































