भारतीय अभिनेत्री तनुश्री दत्ताले मनोरञ्जन उद्योग मा नयाँ कलाकारहरूको शोषण र उत्पीडनलाई लिएर गम्भीर खुलासा गरेकी छिन्। हालै एक अन्तर्वार्ताका क्रममा उनले फिल्म क्षेत्रमा आउने नयाँ युवायुवतीहरूलाई सुरुमा ठूला सपना देखाइने र पछि उनीहरूलाई देहव्यापारको दलदलमा समेत धकेल्ने गरिएको दाबी गरिन्। 

इन्डस्ट्रीमा बाहिरबाट देखिने चमकधमक र सफलताका कथाहरूभन्दा भित्रको यथार्थ निकै भयावह रहेको भन्दै उनले नयाँ पुस्तालाई सचेत गराएकी छिन्।

तनुश्रीका अनुसार नयाँ कलाकारहरूलाई सुरुमा 'तिमी हिरोइन बन्छौ' वा 'ठूलो स्टार बन्छौ' भन्दै प्रशंसा र झुटा बाचा गरेर जालमा पारिन्छ। त्यसपछि उनीहरूलाई विभिन्न प्रभावशाली व्यक्तिहरूसँग भेट्न लगाइन्छ, जहाँ उनीहरूको महत्त्वाकांक्षा र सपनाको दुरुपयोग गरिन्छ। 

धेरैजसो अवस्थामा शोषणमा परेका कलाकारहरू मानसिक रूपमा यसरी टुट्छन् कि उनीहरू या त आफ्नो सहर फर्किन्छन् या त गलत बाटो रोज्न बाध्य हुन्छन्। यस्ता धेरै घटनाहरू कहिल्यै बाहिर नआउने र केवल सफल व्यक्तिको चर्चा मात्र हुने गरेको उनको गुनासो छ।

आफूलाई एक कलाकारका रूपमा चिनाउँदै तनुश्रीले आफ्नो आत्मसम्मान र जिन्दगीको सौदा कहिल्यै नगर्ने स्पष्ट पारेकी छिन्। उनले सम्झौतालाई सही ठहर्‍याउने एक अभिनेत्रीसँगको मित्रता समेत तोडेको स्मरण गरिन्। 

साना बालबालिकालाई अपरिचितबाट जोगिन सिकाएझैँ बलिउडमा संघर्ष गर्न आउनेहरूले पनि लोभ र प्रलोभनबाट बच्न निकै सावधानी अपनाउनुपर्ने उनको सुझाव छ। इन्डस्ट्रीमा हुने यस्ता काला कर्तुतबारे बोल्नुको मुख्य उद्देश्य नयाँ आउनेहरूलाई सम्भावित खतराबाट जोगाउनु रहेको उनले बताएकी छिन्।