फिल्म ‘आ बाट आमा’ले प्रदर्शनको ५१औँ दिन मनाउन सफल भएको छ । फिल्मले आइतबारबाट २० वटा हलमा ५१औँ दिन मनाउन सफल भएको हो ।

निर्माण युनिटले आइतबार नै राजधानीमा एक कार्यक्रम गर्दै कलाकार, सहयोगीलाई प्रशंसा पत्र वितरण गर्दै ५१ औँ दिनको खुसी साटेको हो । फिल्म चन्द्र पन्तले निर्देशन गरेका हुन् ।

फिल्मले ५१ दिनसम्म करिब साढे १३ करोड व्यापार गरेको वितरक कम्पनी आरआर फिल्मसले जनाएको छ । चलचित्र विकास बोर्डको बक्स अफिस तथ्याङ्कमा भने फिल्मको व्यापार १३ करोड ५ लाख आसपास छ । प्रचारसहित २ करोडमा बनेको यो फिल्मबाट निर्माताले ५ करोडसम्म शेयर पाउन सक्ने देखिन्छ ।

‘आ बाट आमा’को व्यावसायिक सफलतापछि निर्माण युनिटले यसको सिक्वेल ‘आ बाट आमा २’ घोषणा गरिसकेको छ । आगामी दसैँमा रिलिज गर्ने लक्ष्य राखिएको यस फिल्ममा पल स्वयं मुख्य भूमिकामा देखिनेछन् भने बिपना थापा पनि रहने बताइन्छ ।

बाबुआमा र छोराको सम्बन्धलाई केन्द्रमा राखेर निर्माण गरिएको ‘आ बाट आमा’मा पल र बिपनासहित प्रदीप रावत, सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेती, रविन्द्र झा, गजित विष्ट, रचना गौतम, बेगम नेपाली लगायतको अभिनय छ।