वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरेले दिवङ्गत अभिनेता सुनिल थापाको योगदानको चर्चा नेपाली फिल्म उद्योगमा सधैँ हुनुपर्ने बताएका छन् । थापा राष्ट्रप्रेमी कलाकार समेत भएको उनको भनाई रहेको थियो ।
राजधानीमा आयोजित आफ्नो नयाँ फिल्म ‘पहाड’को गीत ‘मोहनी लाग्ला रे’ सार्वजनिक कार्यक्रममा बोल्दै उनले विभिन्न दिवङ्गत कलाकर्मीको समेत सम्झना गरे । ‘सुनिल थापाले थुप्रै हिन्दी चलचित्रहरू छोडेर नेपाली चलचित्रलाई माया गर्नुभयो, उहाँको मनमा सधैँ नेपाल थियो’, घिमिरेले भने ‘उहाँलाई नेपालमै मर्नु थियो र अन्त्यमा उहाँले नेपालमै देह त्याग गर्नुभयो ।’
उनको बिदाइमा भएको सम्मानले थापाको परिवार र कलाकर्मी सबैलाई एउटा ठुलो सन्तुष्टि मिलेको उनको धारणा थियो । थापालाई ‘विश्वस्तरको भिलेन’ को संज्ञा दिँदै घिमिरेले भने , ‘उहाँ बलिउडको ‘गोल्डेन टाइम’ छोडेर नेपाली चलचित्रका लागि आउनुभयो, उहाँको ऋण हामी कहिल्यै तिर्न सक्दैनौँ ।’
थापासँगै घिमिरेले अर्का दिग्गज कलाकार प्रकाश थापा, चेतन कार्की लगायतको समेत सम्झना गरे । कार्यक्रममा निर्देशक घिमिरेले आफ्नो लामो फिल्म यात्राको अनुभव सुनाउँदै अहिले आफू प्रशंसा र आलोचना दुवैबाट टाढा रहन सक्ने परिपक्व अवस्थामा पुगेको बताए । ‘अब मलाई तालीले मक्ख पार्दैन र गालीले आत्तिएर पत्याउँदिन पनि’, उनले थपे ।
वर्तमान फिल्म बजार र प्रविधिको विकासप्रति सकारात्मक रहँदै घिमिरेले अहिले एउटा राम्रो सिस्टम बन्दै गएको उल्लेख गरे । सूचनाको सही सञ्चार भएमा दर्शकहरू स्वतः फिल्म हेर्न आउने र यसले नेपाली चलचित्र उद्योगलाई जीवित राख्ने उनको विश्वास छ। उनले पत्रकारिता क्षेत्रलाई चलचित्र उद्योगको ‘आँखीझ्याल’ को रूपमा चित्रण गर्दै प्रेसको भूमिका महत्त्वपूर्ण रहेको बताए ।
घिमिरे निर्देशित फिल्म ‘पहाड’ आगामी वैशाख १ गते अर्थात् नयाँ वर्षको दिन प्रदर्शनमा आउँदैछ । युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई फिल्मले कथाको रूपमा उठाएको छ ।
भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भएकोे फिल्ममा विपिन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, उमा गिरीलगायतका कलाकारको अभिनय छ । निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै फिल्ममार्फत अभिनेत्रीको रूपमा दर्शकसामु ल्याउँदै छन् ।






































