काठमाडौं— गायक बिजय लामा अमेरिकाको न्यूयोर्क सिटीमा सम्मानित भएका छन् । गायक लामालाई न्यूयोर्कका एसेम्ली मेम्बर स्टेभेन रागाले सम्मान गरेका हुन् ।
भोटेकोशी समाज अमेरिकाको आयोजनामा सम्पन्न ल्होसार साँझ २०२६ मा गायक लामाले आफ्ना चर्चित गीतहरु ‘नखानु पानी तोङ्बाको’, ‘भोली फर्कि आउँछु आउँदिन’, ‘खासा बजार’लगायतका गीतहरु प्रस्तुत गरेका थिए । सयौँको संख्यामा उपस्थित दर्शकहरु पनि गायक लामासँगै झुमेको दृश्य लोभलाग्दो थियो ।
सो अवसरमा भोटेकोशी समाज अमेरिकाका अध्यक्ष अक्बर स्याङतानले भव्य रुपमा कार्यक्रम सम्पन्न भएकोमा खुशी व्यक्त गरे । उनले भोलीका दिनमा पनि आफ्नो कला संस्कृति र परम्परा जोगाउन यस्तो किसिमका सांस्कृति कार्यक्रमहरुलाई निरन्तरता दिने बताए ।
परदेशी भूमिमा लामो समयदेखि परिवारसहित बस्दै आएका स्याङतानले कार्यक्रममा उपस्थित दर्शक तथा देश विदेशमा रहेका शुभचिन्तक एवंम कार्यक्रम सम्पन्न गर्न मद्धत गर्ने सबैलाई आभार प्रकट गरेका छन् ।






































