एजेन्सी— इरान र अमेरिकाबीचको द्वन्द्वले नयाँ मोड लिएको छ । इरानी संसद्को राष्ट्रिय सुरक्षा र वैदेशिक नीति समितिका सदस्य महमूद नबभियानले पाकिस्तानमा अमेरिकासँग भएको वार्तालाई रणनीतिक गल्तीको संज्ञा दिएका छन् ।
नबभियानका अनुसार, पाकिस्तानमा भएको वार्तामा इरानको परमाणु मुद्दालाई छलफलको विषय बनाउनु नै गलत थियो ।
उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘परमाणु मुद्दालाई वार्ताको टेबुलमा राखेर हामीले ठूलो रणनीतिक गल्ती गर्यौं । त्यसका कारण शत्रु झन् साहसी भएको छ ।’
अमेरिकाले इरानको ६० प्रतिशत संवर्धित युरेनियम हटाउन र त्यसलाई २० वर्षसम्म रोक्न राखेको प्रस्तावलाई तेहरानले अस्वीकार गरेको उनले जानकारी दिए ।
अर्कोतर्फ, अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि कडा दबाब कायम राखेका छन् । ट्रुथ सोसलमा एक पोस्ट गर्दै उनले आफू कुनै पनि दबाबमा नरहेको तर इरानका लागि समय घर्किंदै गएको चेतावनी दिएका छन् ।
ट्रम्पले इरानको सैन्य शक्ति लगभग ध्वस्त भइसकेको दाबी गर्दै लेखेका छन्, ‘इरानको जलसेना समुद्रको फेदमा छ, वायुसेना ध्वस्त भएको छ र उनीहरूका नेताहरू अब हामीमाझ छैनन् । अमेरिकाको नाकाबन्दी अत्यन्तै बलियो छ ।’
ट्रम्पले अगाडि थपेका छन्, ‘जबसम्म अमेरिका र उसका सहयोगीहरूको हितमा हुँदैन तबसम्म कुनै सम्झौता गरिने छैन ।’
समुद्री सुरक्षाको विषयलाई लिएर ट्रम्पले अमेरिकी जलसेनालाई नयाँ र घातक आदेश दिएका छन् । हर्मुज जलयोजकमा माइन (समुद्री विस्फोटक) राख्ने प्रयास गर्ने जुनसुकै साना वा ठूला डुंगालाई देख्नेबित्तिकै गोली हान्ने आदेश उनले दिएका हुन् ।
‘मैले अमेरिकी जलसेनालाई हर्मुज जलयोजकको पानीमा माइन बिछ्याउने कुनै पनि डुंगालाई गोली हान्न आदेश दिएको छु । यसमा कुनै हिचकिचाहट हुनु हुँदैन,’ उनले भनेका छन् । साथै, उनले सो क्षेत्रमा माइन हटाउने कार्यलाई तीन गुणाले बढाउन निर्देशन दिएका छन् ।
यो तनाव यस्तो समयमा बढेको छ जब इरानी सेनाले हर्मुज जलयोजकमा दुईवटा जहाजहरू नियन्त्रणमा लिएको खबर आएको छ । विश्वको कुल तेल व्यापारको झण्डै २० प्रतिशत हिस्सा ओगट्ने यस जलमार्गमा भएको अवरोधले विश्वव्यापी अर्थतन्त्रमा गम्भीर असर पर्ने देखिएको छ ।
अमेरिकाभित्र पनि इन्धनको बढ्दो मूल्यलाई लिएर चिन्ता सुरु भएको छ । रिपब्लिकन सांसदहरूले दुई महिनादेखि जारी यो द्वन्द्व अब निर्णायक मोडमा पुग्नुपर्ने माग गरिरहेका छन् । केही समयअघि चर्चामा आएको सम्भावित युद्धविरामको विषयमा इरानले अहिलेसम्म कुनै आधिकारिक पुष्टि गरेको छैन जसले गर्दा यस क्षेत्रमा अनिश्चितता अझै कायम छ ।




































