टोक्यो— विदेशमा रहेका नेपालीहरूको पुँजी र सिपलाई एकीकृत गरी नेपालको समृद्धिका लागि परिचालन गर्ने उद्देश्यका साथ महेश कुमार श्रेष्ठको नेतृत्वमा अघि बढाइएको ‘डायस्पोरा इन्भेस्टमेन्ट कम्पनी’को बारेमा जापानको राजधानी टोक्योमा एक भव्य अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।

आइतबार आयोजित उक्त विशेष कार्यक्रममा कम्पनीको अवधारणा, भावी योजना र लगानीका क्षेत्रहरूका बारेमा विस्तृत प्रस्तुतीकरण गरिएको थियो । कार्यक्रममा अभियानका संयोजक एवं गैर आवासीय नेपाली संघका निवर्तमान अध्यक्ष महेश कुमार श्रेष्ठले गैर आवासीय नेपालीहरूको सानो–सानो पुँजीलाई एकत्रित गरेर ठुला र गौरवका आयोजनामा लगानी गर्ने लक्ष्य रहेको बताए ।

कार्यक्रममा श्रेष्ठले कम्पनीले मुख्य गरी जलविद्युत, पर्यटन, कृषि, र पूर्वाधारका क्षेत्रमा लगानी केन्द्रित गर्ने जानकारी दिए । ‘हामी केवल लगानी मात्र गर्दैनौँ, विदेशमा सिकेको सीप र प्रविधिलाई पनि नेपाल भित्र्याउनेछौँ,’ उनले भने ।

पारदर्शी ढंगले सामूहिक लगानीको अवधारणा कार्यान्वयनमा ल्याइने भएकाले यसमा जोखिम न्यून र प्रतिफलको सुनिश्चितता रहने दाबी समेत गरिएको थियो ।

कार्यक्रममा जापानमा रहेका विभिन्न क्षेत्रका व्यवसायी, बुद्धिजीवी तथा सर्वसाधारण नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरूले सामूहिक लगानीको अवधारणालाई स्वागत गर्दै लगानीको सुरक्षा र सरकारी नीतिबारे जिज्ञासा राखेका थिए ।

जापानवासी नेपालीहरूले सो कम्पनी मार्फत नेपालको विकासमा जोडिन पाउने अवसरलाई उत्साहका साथ हेरेका छन्।

कार्यक्रममा सहभागी केही व्यवसायीहरूले सामूहिक लगानी मार्फत राष्ट्रिय गौरवका आयोजनामा साझेदारी गर्न आफूहरू तयार रहेको प्रतिबद्धता समेत व्यक्त गरे ।

नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको ठुलो योगदान रहे पनि त्यसलाई उत्पादनशील क्षेत्रमा लगाउन नसकिएको अवस्थामा यो कम्पनीले एउटा भरपर्दो पुलको काम गर्ने अपेक्षा गरिएको छ । ‘डायस्पोरा इन्भेस्टमेन्ट कम्पनी’ले संसारभर छरिएका नेपालीहरूलाई एउटै छातामुनि ल्याएर ठुला आयोजनाहरू निर्माण गर्ने लक्ष्य राखेको छ ।

उक्त कार्यक्रममा श्रेष्ठले आगामी दिनमा अन्य मुलुकहरूमा पनि यस्तै किसिमका अन्तक्र्रिया कार्यक्रमहरू आयोजना गरी लगानीकर्ताहरूलाई जोड्ने योजना रहेको सुनाए । कम्पनीको डाइरेक्टरमा गैर आवासीय नेपाली संघका वरिष्ठ उपाध्यक्ष रोविन शेरचन रहेका छन् ।