काठमाडौं । सबैभन्दा ठूलो दल नेकपाको विवाद यथावत् राखेर निर्वाचन आयोगले चुनावी तयारी तीव्र पारेको छ । आइतबार सबै दललाई छलफलका लागि बोलाएर आयोजले चुनावी आचारसंहिता लागु गर्ने सन्देश दिएको हो ।
आचारसंहिता तयार गर्ने प्रयोजनका लागि सुझाव संकलन थालेको आयोगले दल दर्ता प्रक्रिया पनि अघि बढाउने बताउँन थालेको छ । नेकपा प्रचण्ड–माधव समूहले विवाद नसल्टाई निर्वाचनसम्बन्धी कुनै पनि गृहकार्य अघि नबढाउन आयोगलाई चेतावनी दिएको छ ।
गत पुस ५ मा प्रतिनिधिसभा विघटनपछि नेकपाका कुनै पनि समूहलाई आयोगले आधिकारिकता दिएको छैन । आधिकारिकताका लागि प्रचण्ड–माधव समूहले नयाँ निवेदन दिएका छन् ।
४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीका करिब ६५ प्रतिशतको हस्ताक्षरसहित निवेदन दिएको दुई साता पुग्न लागिसकेको छ । उक्त निवेदनमाथिको निर्णय प्रक्रियालाई रोकेर आयोग प्राविधिक तयारीतर्फ केन्द्रित छ ।
आयोगले बोलाएको छलफलमा नेकपाको ओली समूह, दाहाल–नेपाल समूह, कांग्रेस, विवेकशील साझा, नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, राप्रपा, नेपाली जनता दल, नेपाल परिवार दल, राष्ट्रिय जनमोर्चा, नेकपा माले, राष्ट्रिय जनमुक्ति पार्टी र बहुजन शक्ति पार्टी सहभागी थिए ।
तर, जनता समाजवादी पार्टी (जसपा) ले भने छलफलमा भाग लिएन । जसपाले सर्वोच्च अदालतको फैसला पर्खिनुपर्ने बताउँदै आएको छ ।






































