काठमाडौँ- आगामी सरकारमा सहभागी हुन नेकपा एमालेले मापदण्ड बनाएको छ। एमालेले सरकारमा जानेको संख्या कम गर्न मापदण्ड बनाएको हो।

एमाले प्रवक्ता राजेन्द्र गौतमका अनुसार काविल, योग्य र नेतृत्व लिन सक्ने सांसदलाई मन्त्री बनाउने मापदण्ड बनाएको छ। गौतमका अनुसार यो मापदण्डअनुसार नयाँ पुराना सबै मिलाएर लैजान सकिनेछ। गएको सचिवालयको उक्त निर्णयअनुसार विवादमा नपरेका र विगतमा गर्न लिड लिन सकेकालाई मन्त्री बनाउने भनिएको छ।

मन्त्री छान्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। ओलीले अब कांग्रेसबाट आएका मन्त्री हेरेर एमालेका मन्त्री छान्ने एमाले स्रोतको भनाइ छ। ती नेताका अनुसार करिबकरिब अहिले सम्म ९ मन्त्रालय एमालेको भागमा पर्ने सम्भावना छ। तर, सरकारमा सहभागी हुने दल बढे एमालेको भाग घट्नेछ।

यही कारण ओलीले आफू सहज हुने मन्त्री छुट्याउन सक्नेछन्। यद्यपि, समानुपातिक समावेशितालाई ख्याल गर्नुपर्ने छ। यसपटक एमालेबाट दलितदेखि युवासम्मलाई प्राथमिकतामा राखिएको ती नेताले बताए।