काठमाडौं— कांग्रेससँगको सहमतिमा राष्ट्रिय सरकार बनाउने गरी नयाँ समीकरण बनेपछि विकसित घटनाक्रमबारे छलफल गर्न एमालेले मंगलबार केन्द्रीय सचिवालय बैठक बोलाएको छ।

पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बोलाइएको बैठकमा एमालेले केन्द्रीय सदस्यहरूको नयाँ कार्यविभाजन, आर्थिक वर्षको वार्षिक कार्ययोजनादेखि नयाँ सरकार गठनसम्मका एजेन्डामाथि छलफल गर्ने तयारी गरेको छ। 

सचिवालय बैठक सकिएपछि स्थायी समिति र केन्द्रीय कमिटीको बैठक डाक्ने गरी एमालेले गृहकार्य गरिरहेको छ। 

३१ वैशाख ०८० मा बसेको केन्द्रीय कमिटी बैठकले एमाले केन्द्रीय कमिटी सदस्यहरूको कार्यविभाजन गरेको थियो। तीनमहिने मिसन ग्रासरुट अभियानको निष्कर्षका आधारमा सबै केन्द्रीय सदस्यलाई फरक भूगोलमा खटाउने सो बैठकका निर्णयअनुसार उनीहरू खटिएका थिए।

उनीहरूको कामको समीक्षासहित एमालेले नयाँ कार्यविभाजनको गृहकार्य अगाडि बढाएको हो। प्रदेश, जिल्ला र पालिका तहसम्म अधिवेशन सम्पन्न गर्ने त्यही बैठकको निर्णयअनुसार एमालेले अधिकांश तल्ला कमिटीहरूको अधिवेशन सम्पन्न गरेको छ।