काठमाडौं- नयाँ बन्ने सरकारमा मन्त्री बन्न नेकपा एमाले र नेपाली कांग्रेसभित्र तीब्र लबिङ चलिरहेको छ। कांग्रेसमा कसले नेतृत्व गरेर सरकारमा जानेबारे तीब्र छलफल चलिरहेको छ।

हालसम्म कांग्रेसबाट रमेश लेखक, गगन थापा, प्रकाशमान सिंहलगायतले नेतृत्व गरेर सरकारमा जाने आकांक्षा व्यक्त गरेका छन्। यता एमालेबाट भने प्रधानमन्त्रीमा केपी शर्मा ओलीपछि को जान्छ चासोको विषय बनेको छ। ओलीले हालका पदाधिकारीमध्येबाट घटिमा दुईजनालाई मन्त्री बनाउने चाहना गरेका छन्।

ओलीनिकट स्रोतका अनुसार उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई सरकारमा लाने तयारी छ। विष्णुलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने ओलीको तयारी छ। तर महासचिव शंकर पोखरेल भने पौडेललाई रोक्न लागेका छन्।

पौडेललाई रोकेर आफै अर्थमन्त्री बन्ने तयारीमा पोखरेल लागेको ओलीनिकट स्रोतले बताएको छ। पोखरेलले आफ्नो नाम अर्थमा राखेर उपमहासचिव गुरुङलाई मन्त्रीमा समेट्ने प्रस्ताव लगेका छन्। पौडेल र गुरुङ एकैगुटका हुन् अथवा पोखरेल गुट इतरका हुन्।

पोखरेलले आफूलाई मन्त्रीमा समेट्ने र सचिवबाट छबिलाल विश्वकर्मालाई लैजाने बताएका छन्। ओली पनि विश्वकर्माको नाममा सहमत भएको स्रोतको दाबी छ। यता, सचिवबाट योगेश भट्टराई र गोकर्ण विष्टमध्येबाट एकजना मन्त्री बन्ने सम्भावना छ। तर भट्टराईलाई पार्टीभित्रै नयाँ जिम्मेवारी दिएर ओलीले विष्टलाई मन्त्री बनाउने तयारी गरेका छन्।

यता एमालेबाट राष्ट्रियसभा सदस्य देबेन्द्र दाहाल, पदम गिरी, सुनिता बराललगायतको नाम मन्त्रीको लाइनमा छ। सचिव, रघुबीर महासेठदेखि जुली महतो, दामोदर भण्डारी पनि मन्त्रीको लबिङमा छन्। तर, यसबारे ओलीले नबोलेको एमालेले एक नेताले जनाए।