काठमाडौँ- नेपाली कांग्रेसका नेतृ सुजाता कोइरालाले १५ औँ महाधिवेशन सभापतिमा शेखर कोइरालालाई समर्थन घोषणा गरेकी छन् ।

उनले शेखरलाई शशांक कोइरालाले पनि समर्थन गर्ने विश्वास व्यक्त गरिन् । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले भनिन्,'हामी एकजुट हुनै पर्छ। हाम्रो बुबा र हजुरबुबाहरुले देख्नुभएको सपनालाई पूरा गर्नुपर्छ। त्यसका लागि शेखर दाइले लिडरसिप लिनुभएको छ ।'

गएको १४ औँ महाधिवेशनमा सुजाताले सभापतिका प्रत्यासी प्रकाशमान सिंहको गुटबाट उपसभापति लडेकी थिइन्। शशांक भने तटस्थ बसेका थिए। तर, उनले देउवालाई समर्थन गरेको शेखरपक्ष नेताहरूको आरोप थियो।

सभापति शेरबहादुर देउवा इतरपक्षबाट शेखर सभापतिमा उठ्ने प्रयत्न गरेका छन्। सोही समूहबाट महामन्त्री गगन थापाले पनि तयारी गरिरहेका छन्। यता, संस्थापक पक्षबाट भने सभापतिको आकांक्षी देखिएका छैनन्। देउवा निकट मानिने पूर्णबहादुर खड्का सभापतिका आकांक्षी भएको निकट स्रोत बताउँछ।