काठमाडौं–पछिल्ला केही वर्षहरूमा नेपालको आकाशमा हवाई दुर्घटनाको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । सानो देश, पर्यटनको प्रचुरसम्भावना बोकेको देमा पटक पटक भइरहेका यति धेरै हवाई दुर्घटनाले नेपाली आकाश कति सुरक्षित भन्ने प्रश्न उब्जिएको छ । हामीले बारम्बार यस्तो प्रश्न सोधिरहेका छौँ, किन नेपालमा यति धेरै हवाई दुर्घटना हुन्छ ? 

विज्ञहरूका अनुसार नेपालको भौगोलिक बनावट, मौसमी अवस्था, र प्राविधिक कमजोरीहरू हवाई दुर्घटनाका प्रमुख कारण हुन् । हाम्रो देशको भौगोलिक बनावट जटिल छ, उच्च पहाडी क्षेत्र, खोँचहरू, र अत्यधिक मौसमी परिवर्तनले पाइलटहरूका लागि उडानलाई चुनौतीपूर्ण बनाउँछ । यसबाहेक, हाम्रा विमानस्थलहरूको पूर्वाधार पनि पर्याप्त नभएको कुरा स्विकार गर्नुपर्छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमन र अनुगमन प्रणालीमा पनि कमजोरी रहेको विज्ञहरूको भनाइ छ । एयरलाइन्स कम्पनीहरूलाई प्रभावकारी रूपमा नियमन गर्न नसक्नु, सुरक्षा मापदण्डको पालना नगर्नु जस्ता कारणले पनि दुर्घटनाको जोखिम बढेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालको हवाई इतिहासमा ११० हवाई दुर्घटनामा ९६५ जनाको मृत्यु भएको छ । 

यसबाहेक, दक्ष जनशक्तिको अभाव, पुरानो प्रविधिको प्रयोग, र एयरलाइन्स कम्पनीहरूको आर्थिक अवस्था कमजोर हुनु जस्ता कारणले पनि दुर्घटनाको सम्भावना बढेको छ । हामीले बारम्बार यस्ता दुर्घटना भोगिरहनु हाम्रो लागि लाजमर्दो कुरा हो । यसले हाम्रो देशको छविमा नकारात्मक असर पार्नुका साथै पर्यटन क्षेत्रमा पनि नकारात्मक प्रभाव पार्छ ।

यस समस्याको समाधानका लागि सरकारले नियामक निकायलाई थप प्रभावकारी बनाउनुपर्छ । एयरलाइन्स कम्पनीहरूलाई कडाइका साथ नियमन गर्नुपर्छ, हवाई पूर्वाधारमा सुधार गर्नुपर्छ, र दक्ष जनशक्तिको विकास गर्नुपर्छ । प्राधिकरणले हवाई सुरक्षालाई प्रभावकारी बनाउन नीतिगत र संरचनागत परिवर्तन आवश्यक रहेको बताएको छ ।