काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड ले आफूहरू ‘ब्ल्यांकेट एम्नेस्टी’को पक्षमा नरहेको बताएका छन्। टीआरसी विधेयकका सन्दर्भमा आज संसदमा बोल्दै प्रचण्डले गम्भीर मानव अधिकार उल्लङ्घनका घटनामा क्षमा नहुने बताएका हुन्।
सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन सम्बन्धी आयोग पीडितमैत्री हुन्छ कि हुँदैन भनेर लामो सयम विभिन्न स्तरमा गम्भीर छलफल गरेको भन्दै प्रचण्डले यसबारे फैलाइएका भ्रमहरू चिर्न सफल भएको उल्लेख गरे।
प्रचण्डले भने, ‘लामो समयदेखि यो विधेयक पीडित मैत्री हुन्छ कि हुँदैन भन्ने बारेमा हामीले विभिन्न स्तरमा गम्भीर संवाद गर्यौं। हामीले देशभित्र विभिन्न पीडित संस्थाका प्रतिनिधिहरूसँग, पीडित परिवारहरूसँग, राष्ट्रिय र अन्तर्राष्ट्रिय संघसंस्थाहरूसँग लामो समयदेखि निरन्तर संवाद गर्दै रह्यौं। यो विधेयक पीडित मैत्री हुन्छ कि हुँदैन या यसले मेलमिलापको नाममा पीडितलाई थप पीडा दिने त होइन भन्ने चिन्ता हामी सबैले व्यक्त पनि गर्यौं र यसलाई बढीभन्दा बढी पीडित केन्द्रित बनाउने कोसिसगर्यौँ।’
प्रचण्डले अगाडि भने, ‘यो अन्तर्राष्ट्रिय मान्यता र परम्परा अनुसार स्थापित मूल्य(मान्यता अनुसार हुन्छ कि हुँदैन, किनकी सुरुका दिनहरूमा यसमा धेरै नै विवाद के भयो भने हामी एम्नेष्टिमा जाँदै छौं, हामीले गम्भीर मानवअधिकार उल्लङ्घनका घटनामा पनि क्षमा दिँदै छौं भन्ने प्रचार पनि धेरै भयो। हामीले त्यसलाई पनि चिर्यौँ। हामी ब्ल्याङ्केट एम्नेस्टीको पक्षमा छैनौं, गम्भीर मानव अधिकार उल्लङ्घनका घटनाहरूको न्यायिक निरुपण गर्छौं भन्ने कुरा हामीले स्पष्ट गर्यौँ र यहाँसम्म आउँदा त्यस कुरामा अन्तर्राष्ट्रिय समुदायमा पनि अब कुनै भ्रम छ भन्ने मलाई लाग्दैन।’






































