दमक l झापाको दमकमा बन्दकर्ता र प्रहरीबीच झडप भएको छ । आज (आइतवार)दिउँसो १ः१५ बजेदेखि दमक –६ स्थित गणतन्त्र चोकमा संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका अध्यक्ष कुमार लिङ्देनको नेतृत्वमा करिब सय जनाको उपस्थितिमा सडकको बिच भागमा टायर बाली अवरोध गर्न खोजेका थिए । 

सोहीक्रममा प्रहरीले बन्दकर्तालाई नियन्त्रणमा लिन खोज्दा बन्दकर्ताहरुले प्रहरीमाथि ढुंगा प्रहार थिए । ढुंगा प्रहारबाट मे १ च ५१६१ नं को स्कोरपियोसहित केही सवारी साधनमा क्षति पुगेको छ । झडपका क्रममा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ३ सेल अश्रुग्यास प्रहार गरेको छ भने केही बन्दकर्ताहरुलाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय दमक लगेको छ । त्यहाँको स्थिति तनावग्रस्त बनेको थियो ।

हाल सवारी साधनहरु बैकल्पिक बाटोबाट आवातजावत गरिरहेको जनाइएको छ । यातायात अवरुद्ध पार्न खोज्दा अश्रुग्यास प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसअघि बिहान आकाशे पुलमा भेला भई बन्द गराउन खोज्दा प्रहरीले ३ जना बन्दकर्तालाई पक्राउ गरेको थियो ।

दमकबाट अहिलेसम्म ७ जना बन्दकर्ता पक्राउ परेका छन् । पदम बेघा, धनकुमार योङहाङ, शुक्रवीर लिम्बू, आदित्य फियाक , प्रकाश लावुङ, सन्देश लिम्बू र नाम्साङ लिम्बू पक्राउ परेको जनाइएको छ ।