काठमाडौं —  नेकपा एमालेका महासचिव शंकर पोखरेलले समाजलाई बदल्न विद्रोह जरुरी रहेको बताएका छन्। सोमबार काठमाडौंमा ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ नाम पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले अनुशासित विद्रोहको प्रतिनिधि पात्र प्रधानमन्त्री केपी शर्मा ओली भएको बताए। उनले प्रधानमन्त्री ओली आन्दोलनभित्र फरक मत लिएर लामो समय रहेको भए पनि पार्टीका सीमाहरूलाई कहिल्यै उल्लंघन नगरेको पात्राका रूपमा चित्रण गरे।

सीमामा रहेर अघि बढ्यो भने उपलब्धि हासिल हुनसक्ने कुरा उनको जीवनीबाट लिन सकिने बताए। उनले प्रधानमन्त्री ओलीमाथि किन घेराबन्दी भइरहेको छरु भन्ने कुराको विमर्श गर्न जरुरी रहेको बताए। प्रधानमन्त्री ओली नेपाली समाजमा सबैभन्दा बढी खोजिने पात्र रहेको बताए।

महासचिव पोखरेलले भने, ‘समाजलाई बदल्नु छ भने विद्रोह त गर्नैपर्छ। तर अनुशासित विद्रोहको प्रतिनिधि पात्र हो भन्ने म ठान्दछु। लामो समय उहाँ आन्दोलनभित्र फरक मतमा रहनुभयो तर पार्टीका सीमाहरुलाई कहिल्यै उल्लंघन गर्नुभएन। त्यही भएर उहाँ अहिले पार्टीको शिर्ष स्थानमा हुनुहुन्छ। दिशा बदल्न चाहनेहरु, विद्रोह गर्न चाहनेहरुले सिक्नैपर्ने पाठ भनेको उल्लंघन गर्नु हुँदैन।'

महासचिव पोखरेलले प्रधानमन्त्री ओली नपढेको मान्छे नभई पढ्न नपाएको मान्छे भएको बताए। ज्ञानका दृष्टिकोणले पढेका मान्छेहरु भन्दा बढी जानकारी रहेको व्यक्ति भएको बताए।