राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित पूर्व डिआइजी छविलाल जोशीको रिटमा आज सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ हुँदैछ।

सहकारी प्रकरणमा पक्राउ परेका लामिछाने र जोशीको थुनासम्बन्धी मुद्दामा बिहीबार सरकारी वकिल र प्रतिवादी पक्षको बहस सकिएको थियो। आज जाहेरीकर्ताको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित अन्य कानुन व्यवसायीहरूले बहस गरेका छन्।

बहसपछि निवेदकको तर्फबाट जवाफी बहस पनि आजै हुने भएको छ। दुवै पक्षको बहस सकिएपछि आदेश आउने उच्च सम्भावना रहेको छ।

यसअघि उच्च अदालत तुलसीपुर बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको धरौटीमा छाड्ने आदेश उल्टाउँदै लामिछानेलाई थुनामा पठाउने आदेश दिएको थियो। आदेश जारी भएलगत्तै प्रहरीबाट कानुनी प्रक्रिया पूरा नगरी पक्राउ गरिएको भन्दै लामिछानेकी पत्नी निकिता लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

प्रहरीले लामिछानेलाई पक्राउ गरेको चौथो दिनमा मात्र अदालतमा उपस्थित गराएको थियो। साथै, उच्च अदालतको आदेश खारेज गर्न माग गर्दै ७३ नम्बरको छुट्टै निवेदन पनि सर्वोच्चमा दायर गरिएको छ।

उक्त रिटमा सुनुवाइ न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबारदेखि भइरहेको छ।

यदि सर्वोच्च अदालतले उच्च अदालतको आदेश बदर गरेमा लामिछाने र जोशी दुवै थुनामुक्त हुनेछन्। त्यसो नभए उनीहरूलाई थुनामै राख्न सर्वोच्चको आदेशले बाटो खोल्नेछ।