काठमाडौं । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतको आदेशमा शब्द प्रयोगको त्रुटि देखिएको छ।

शुक्रबार सर्वोच्च अदालतले लामिछानेसम्बन्धी दिएको आदेशमा ‘आदेश’ भन्नुपर्ने ठाउँमा ‘फैसला’ शब्द प्रयोग गरिएको हो। कानुनी प्रक्रिया अनुसार, मुद्दाको अन्तिम टुंगो लागेपछि मात्र अदालतको निर्णयलाई ‘फैसला’ भनिन्छ, जबकि मुद्दा विचाराधीन अवस्थामा हुने निर्णयलाई ‘आदेश’ भनिन्छ।

रवि लामिछानेविरुद्धको मुद्दा हाल रूपन्देही जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ। त्यसैले सर्वोच्च अदालतले शुक्रबार गरेको निर्णयलाई ‘आदेश’ लेखिनुपर्नेमा ‘फैसला’ लेखिएको भन्दै त्रुटि सच्याउन आज ( पेशी तोकिएको छ।

शुक्रबार न्यायाधीशद्वय बालकृष्ण ढकाल र नहकुल सुबेदीको इजलासबाट लामिछानेलाई पुर्पक्षमा थुनामा पठाउने उच्च अदालत दाङ, बुटवल इजलासको आदेश सदर गरिएको थियो। यही आदेशमा शब्द प्रयोगको त्रुटि भेटिएको हो।

अदालत प्रशासनले यो त्रुटिलाई गम्भीर रुपमा लिँदै आजै सोही इजलासमा पेशी तोकेको छ।