काठमाडौं— मध्यपूर्वमा जारी तनावसम्बन्धी एआई प्रयोग गरेर भ्रामक सामग्री फैलाएको आरोपमा संयुक्त अरब इमिरेट्स (यूएई) मा १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक जना नेपाली नागरिक पनि रहेका छन्।

गल्फन्युजका अनुसार सामाजिक सञ्जालमा झुटा तथा भ्रामक भिडिओ क्लिप सार्वजनिक गरेको आरोपमा युएईका महान्यायाधिवक्ता Hamad Saif Al Shamsi ले उनीहरूलाई पक्राउ गर्न आदेश दिएका हुन्।

पक्राउ परेकामध्ये एक नेपालीको आँखा छोपिएको तस्वीर सार्वजनिक गरिएको भए पनि अन्य विवरण खुलाइएको छैन।

अधिकारीहरूका अनुसार ती व्यक्तिहरूले क्षेत्रीय घटनाक्रमको फाइदा उठाउँदै एआईमार्फत नक्कली भिडियो बनाएर जनतालाई भ्रमित पार्ने प्रयास गरेका थिए।

ती सामग्रीमा एयर डिफेन्स प्रणालीका दृश्य, भीडभाडका फुटेज तथा यूएईका विभिन्न स्थानमा विस्फोट, आक्रमण र आगलागी भएको देखाउने भ्रामक दृश्य समावेश गरिएको बताइएको छ।

प्रहरीले अनुसन्धानपछि सबै अभियुक्तलाई द्रुत सुनुवाइका लागि अदालतमा पेश गरिएको जनाएको छ।

उनीहरूले भ्रामक सूचना फैलाएकै प्रमाणित भए दुई लाख अमेरिकी डलर र २ वर्ष कैद सजाय पाउनेछन् ।