काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज खुला राख्न विभिन्न देशलाई युद्धपोत पठाउन आह्वान गरेपछि भारतले भने इरानसँग प्रत्यक्ष वार्तामा जोड दिएको छ ।

भारतका विदेश मन्त्री एस। जयशंकरले आइतबार प्रकाशित फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा समस्या समाधानको उत्तम उपाय कूटनीतिक छलफल नै भएकोमा जोड दिएका हुन् ।

स्ट्रेट अफ होर्मुज (जलडमरूमध्य)बाट पानीजहाज सुरक्षित तरिकाले आवागमन जारी राख्न भारतले इरानसँग प्रत्यक्ष वार्ता गरिरहेको र त्यसबाट सकारात्मक परिणाम पनि देखिएको उनले बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुजबाट इन्धन बोकेका जहाज आउ–जाऊ गर्ने वातावरण बनाउनका लागि चीन, फ्रान्स, बेलायत, जापान, दक्षिण कोरिया लगायतका देशहरूलाई पनि युद्धपोत पठाउन आग्रह गरेका थिए ।

तर जयशंकरले भनेका छन्, ‘भारतको दृष्टिकोणबाट हेर्दा हामीले तर्कसंगत रूपमा छलफल गर्ने, समन्वय गर्ने र समाधान खोज्ने बाटो नै उत्तम हो । यदि यसले अरूलाई पनि संवादमा संलग्न हुन प्रेरित गरेमा त्यसले विश्वलाई नै फाइदा पुर्‍याउँछ ।’

भारतका दुई भारतीय झण्डाबाहक एलपीजी बोक्ने जहाज ‘शिवालिक’ र ‘नन्दा देवी’ शनिबार करिब ९२ हजार ७१२ मेट्रिक टन तरल पेट्रोलियम ग्यास बोकेर हर्मुज जलडमरूमध्य पार गर्दै भारततर्फ प्रस्थान गरेका थिए ।