काठमाडौं । राहदानी छपाइसम्बन्धी अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप दुई जनालाई पक्राउ गर्दै अनुसन्धानलाई तीव्र बनाएको छ।

पक्राउ पर्नेमा राहदानी छपाइसँग सम्बन्धित जर्मन कम्पनीका नेपाल प्रतिनिधि मुनिन्द्रराज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य रहेका छन्। अख्तियारले उनीहरूमाथि अनुसन्धान अघि बढाउन विशेष अदालतबाट तीन दिनको म्यादसमेत प्राप्त गरेको छ।

यसअघि नै राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र सूचना प्रविधि निर्देशक सुनिलकुमार केसी पक्राउ परिसकेका छन्। पछिल्ला पक्राउले राहदानी छपाइ प्रक्रियामा भएको भनिएको अनियमितताको अनुसन्धान उच्च तहसम्म पुगेको संकेत गरेको छ।

स्रोतका अनुसार महानिर्देशक अर्याललाई प्रारम्भिक सोधपुछपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट अख्तियारको जिम्मा लगाइएको थियो।

बहुचर्चित राहदानी छपाइ प्रकरणमा लगातार पक्राउ बढ्न थालेपछि सरकारी खरिद प्रक्रिया, ठेक्का व्यवस्थापन र निर्णय प्रक्रियामाथि थप प्रश्न उठ्न थालेका छन्। अख्तियारले भने घटनासँग जोडिएका सबै पक्षको भूमिका र आर्थिक कारोबारको पाटोसमेत केलाइरहेको जनाएको छ।