गण्डकी । कालीगण्डकी नदीमा जलविद्युत् आयोजनाको बाँध बनेपछि माझी र बोटे समुदायको परम्परागत जीविकोपार्जन संकटमा परेको छ। पहिले माछा मारेर परिवार चलाउने समुदाय अहिले माछा अभावका कारण पेसा छाड्न बाध्य भएको छ।

स्थानीयका अनुसार बाँध निर्माणपछि नदीमा माछाको संख्या घटेको छ। जाल थाप्दा पनि माछा नपर्ने अवस्था आएको उनीहरू बताउँछन्।

माछा मार्ने काम छाडेर स्टिमर चलाउन थालेकाहरू पनि अहिले समस्यामा छन्। सडक विस्तार भएपछि जलयात्रामा यात्रु घटेका कारण आम्दानीसमेत कम भएको छ।

स्थानीय माझी तथा बोटे समुदायले डुङ्गा सयर सञ्चालनको अनुमति र वैकल्पिक रोजगारीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।