काठमाडौं। आज द्वन्द्वमा यौन हिंसाको उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ। नेपालमा पनि विविध कार्यक्रमका साथ यो दिवस मनाईँदैछ । दिवश मनाइदै गर्दा न्याय खोज्दै पीडितका आँखा रसाइरहेछन् ।
पीडितको पीडा जीवित छ, दिवस मनाइँदैछ, द्वन्द्व सकिएको दुई दशक हुँदा किन अझै न्याय पाउँदैनन् यौन हिंसाका पीडित ? शान्ति आयो, न्याय अझै आएन, गोली रोकिए, बलात्कारका घाउ बाँकी नै रहे, पीडितको जीवन प्रतीक्षामा रहँदा चित्कार सुन्ने को हो ? राज्य किन मौन बसिरहेछ ?
गोलीका आवाजहरू रोकिए, युद्धका मोर्चाहरू शान्त भए, तर पीडितका घाउ अझै निको भएका छैनन्। द्वन्द्वका क्रममा यौन हिंसाको शिकार बनेका हजारौं महिला, बालबालिका र नागरिक अझै न्यायको पर्खाइमा छन्। यही पीडा, यही संघर्ष र न्यायको मागलाई सम्झाउने दिन
हेरौं यो रिपोर्ट।
द्वन्द्व केवल बन्दुक र बमको लडाइँ मात्र होइन, यसले मानिसको आत्मसम्मान, भविष्य र जीवनमाथि पनि गहिरो चोट पुर्याउँछ। विशेषगरी युद्ध र सशस्त्र द्वन्द्वका क्रममा यौन हिंसा सबैभन्दा क्रूर हतियारका रूपमा प्रयोग हुने गरेको छ। बलात्कार, यौन दासत्व, जबर्जस्ती विवाह, गर्भधारण र यौन शोषणका घटनाले हजारौं मानिसको जीवन सधैंका लागि बदलिदिएको छ।
यिनै अपराधविरुद्ध विश्वव्यापी आवाज बुलन्द गर्न हरेक वर्ष जुन १९ मा द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाइन्छ। यस वर्ष संयुक्त राष्ट्रसंघले ‘बालबालिकामाथि हुने द्वन्द्वकालीन यौन हिंसा रोकौँ, सुरक्षित भविष्य र सशक्त संरक्षक निर्माण गरौँ’ भन्ने नारासहित दिवस मनाइरहेको छ।युद्धको सबैभन्दा ठूलो मूल्य बालबालिकाले चुकाउन नपरोस्।
संयुक्त राष्ट्रसंघका अनुसार द्वन्द्वकालीन यौन हिंसा केवल व्यक्तिगत अपराध होइन, यो मानवअधिकारमाथिको गम्भीर आक्रमण हो। त्यसैले पीडितलाई न्याय र पीडकलाई दण्डित गर्नु अन्तर्राष्ट्रिय समुदायको साझा जिम्मेवारी हो। नेपाल पनि यस पीडाबाट अछुतो छैन।
दशवर्षे सशस्त्र द्वन्द्व अन्त्य भएको झण्डै दुई दशक पुग्न लाग्दा समेत धेरै पीडितले न्यायको अनुभूति गर्न सकेका छैनन्।सत्य निरुपण तथा मेलमिलाप आयोगमा दर्ता भएका ६३ हजारभन्दा बढी उजुरीमध्ये ३ सय १४ वटा बलात्कार तथा यौनजन्य हिंसासँग सम्बन्धित छन्।
तर अधिकारकर्मीहरू भन्छन्, सामाजिक डर, लाञ्छना र मौनताका कारण वास्तविक पीडितको संख्या अझै धेरै हुन सक्छ। यही कारण द्वन्द्वको इतिहासलाई केवल राजनीतिक सम्झौताले टुंग्याउन नसकिने उनीहरूको तर्क छ। जबसम्म पीडितले न्याय पाउँदैनन्, तबसम्म शान्ति पनि पूर्ण हुन सक्दैन।
द्वन्द्व सकिएको घोषणा गर्न सजिलो हुन सक्छ, तर पीडितको पीडा अन्त्य भएको घोषणा गर्न सकिँदैन। आजको दिवसले फेरि एकपटक स्मरण गराएको छ- न्यायविनाको शान्ति अधुरो हुन्छ, र पीडितको आवाज नसुन्ने समाज कहिल्यै पूर्ण रूपमा शान्त हुन सक्दैन।






































