काठमाडौं। नेपालमा सौन्दर्य सामग्रीको प्रयोग ह्वात्तै बढिरहेको छ। अनुहार चम्काउने फेस क्रिमदेखि ओठ सजाउने लिपस्टिक, कपाल रङ्गाउने डाई र विभिन्न कस्मेटिक सामग्री किन्न मात्रै नेपालीहरूले ११ महिनामै १२ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी विदेश पठाएका छन्। भन्सार विभागको तथ्यांकले नेपाली बजारमा आधुनिक सौन्दर्य सामग्रीको माग तीव्र रूपमा बढिरहेको देखाएको छ।
सुन्दर देखिने चाहना मानव स्वभाव हो। तर पछिल्लो समय नेपालीहरूको यही चाहनाले विदेशी कस्मेटिक बजारलाई भने ठूलो फाइदा पुर्याइरहेको छ। चालु आर्थिक वर्षको ११ महिनामा नेपालले सौन्दर्य सामग्री आयात गर्न मात्रै १२ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी खर्च गरेको छ। यो रकम गत वर्षको सोही अवधिको तुलनामा करिब १ अर्ब ४० करोड रुपैयाँले बढी हो।
तथ्यांक अनुसार सबैभन्दा धेरै वृद्धि फेस क्रिममा देखिएको छ। गत वर्ष १ अर्ब १६ करोड रुपैयाँ बराबरको फेस क्रिम आयात भएकोमा यस वर्ष बढेर १ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ। अर्थात् अनुहारको सौन्दर्यका लागि मात्रै नेपाली बजारबाट झण्डै पौने २ अर्ब रुपैयाँ विदेशिएको छ।
ओठ सजाउने लिपस्टिक र अन्य लिप मेकअप सामग्रीमा पनि खर्च बढ्दो छ। एक वर्षमै यसको आयात ५९ करोड रुपैयाँबाट बढेर ७१ करोड ७४ लाख रुपैयाँ पुगेको छ। बडी लोसन, पेट्रोलियम जेली, नेल पोलिस तथा मेनिक्योर–पेडिक्योर सामग्रीको आयातमा समेत उल्लेख्य वृद्धि भएको छ। कपाल रङ्गाउन प्रयोग हुने हेयर डाईमा मात्रै १ अर्ब रुपैयाँभन्दा बढी खर्च भएको छ भने कपालमा लगाउने तेलको आयात पनि बढेको देखिन्छ।
यसले नेपाली बजारमा आधुनिक सौन्दर्य सामग्रीको प्रयोग र उपभोग संस्कृति तीव्र गतिमा विस्तार भइरहेको संकेत गरेको छ। यद्यपि सबै सामग्रीको माग बढेको भने छैन। परम्परागत रूपमा प्रयोग हुने सिन्दूरको आयात घटेको छ। त्यस्तै फेस पाउडर, स्याम्पु, हेयर कन्डिसनर र हेयर क्रिमको आयातमा पनि केही कमी आएको तथ्यांकले देखाएको छ।
समग्रमा नेपाली उपभोक्ताको रोजाइ परम्परागत शृङ्गार सामग्रीबाट आधुनिक कस्मेटिकतर्फ तीव्र रूपमा सर्दै गएको देखिन्छ। बढ्दो मागसँगै विदेशी ब्रान्डको प्रभाव पनि नेपाली बजारमा विस्तार हुँदै गएको छ। सुन्दर देखिने चाहनासँगै सौन्दर्य सामग्रीको प्रयोग बढ्नु स्वाभाविक मानिए पनि यसले विदेशी वस्तुमाथिको निर्भरता र बढ्दो आयात खर्चलाई समेत उजागर गरेको छ। उत्पादनभन्दा उपभोगतर्फ उन्मुख बन्दै गएको नेपाली बजारको अर्को तस्वीरका रूपमा पनि यसलाई हेरिएको छ।




































