काठमाडौं । नेपालको विद्युत् प्रसारण पूर्वाधार निर्माणमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धा सुरु भएको छ। नेपाल विद्युत् प्राधिकरणले चार वटा प्रसारणलाइन परियोजनाका लागि निजी तथा विदेशी कम्पनीलाई प्रतिस्पर्धामा उतारेपछि भारत, चीन र अमेरिकाका कम्पनीहरू एउटै दौडमा उत्रिएका छन्।
प्राधिकरणले ट्यारिफ बेस्ड कम्पिटिटिभ बिडिङ ९टीबीसीबी० मोडलमार्फत प्रसारणलाइन निर्माण, सञ्चालन र हस्तान्तरणका लागि आशयपत्र मागेको थियो। जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी १८ कम्पनीले आवेदन दिएका छन्।
प्रतिस्पर्धामा भारतको पावर ग्रिड कर्पोरेसन, अशोका बिल्डकन र मेघा इन्जिनियरिङ, चीनका टीबीईए तथा चाइना नेशनल मेसिनरी इम्पोर्ट एन्ड एक्सपोर्ट कर्पोरेसन, साथै अमेरिकी कम्पनी के एण्ड ए इन्जिनियरिङ सहभागी छन्।
सबैभन्दा बढी आकर्षण रिडी–तम्घास प्रसारणलाइन परियोजनामा देखिएको छ भने अरुण करिडोर र ढल्केबर जोड्ने ठूला परियोजनामा पनि विदेशी कम्पनीहरूको चासो रहेको छ।ऊर्जा क्षेत्रका विज्ञहरूका अनुसार आगामी दशकमा ३० हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन गर्ने सरकारी लक्ष्यका कारण प्रसारण पूर्वाधारमा ठूलो लगानी आवश्यक छ। यही सम्भावनाले विदेशी कम्पनीहरूलाई नेपालतर्फ आकर्षित गरेको मानिएको छ।
यद्यपि निजी क्षेत्रले परियोजनाको वित्तीय संरचना र लगानी सुरक्षाका विषयमा असन्तुष्टि जनाएको छ। अब प्राधिकरणले प्रस्तावहरूको प्राविधिक तथा वित्तीय मूल्यांकन गरी योग्य कम्पनी छनोट गर्नेछ।ऊर्जा क्षेत्रका जानकारहरू यो प्रक्रियालाई नेपालको प्रसारण प्रणाली विकासमा ‘गेम चेन्जर’ का रूपमा हेर्छन्।






































