काठमाडौं । नेपालमा ज्येष्ठ नागरिकको संख्या ३३ लाख ५५ हजार ८०८ पुगेको छ। तर उमेर ढल्किए पनि अधिकांश ज्येष्ठ नागरिक अझै कृषि पेशामै सक्रिय रहेको सरकारी तथ्यांकले देखाएको छ।
महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको ‘तथ्यांकमा ज्येष्ठ नागरिक–२०८३’ अनुसार आर्थिक रूपमा सक्रिय ज्येष्ठ नागरिकमध्ये ७२।६ प्रतिशत कृषि क्षेत्रमा संलग्न छन् भने २७ प्रतिशत गैर–कृषि क्षेत्रमा कार्यरत छन्।
प्रतिवेदनले ६८।८ प्रतिशत ज्येष्ठ नागरिक स्व–व्यवसाय वा श्रममा, १३।४ प्रतिशत रोजगारीमा, ०।८ प्रतिशत रोजगारदाता तथा १७ प्रतिशत परिवारका सहयोगीका रूपमा रहेको देखाएको छ।
सरकारी तथ्यांकले नेपालका धेरै ज्येष्ठ नागरिकले अवकाशपछि पनि जीविकोपार्जनका लागि विशेषगरी कृषि क्षेत्रमा नै निर्भर रहनुपरेको अवस्था उजागर गरेको छ।




























