काठमाडौं। मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत बिए प्रथम वर्ष २०८१ सालतर्फको आंशिक परीक्षाको नतिजा सार्वजनिक हुन ढिलाइ भएपछि विद्यार्थीहरू निराश बनेका छन्।

२०८१ मै सम्पन्न हुनुपर्ने परीक्षा विभिन्न कारणले पटक–पटक पछि सर्दै अन्ततः २०८३ साल जेठ १८ देखि २७ गतेसम्म सञ्चालन गरिएको थियो। उक्त परीक्षामा दुई हजार ४ सय ३० जना परीक्षार्थी सहभागी भएका थिए।

विद्यार्थीहरूका अनुसार परीक्षा सञ्चालनमै करिब एक वर्ष ढिलाइ भएको अवस्थामा अब नतिजा पनि समयमै नआउँदा उनीहरूको शैक्षिक तथा व्यावसायिक योजना प्रभावित भएको छ। एक–दुई विषयको नतिजा नआएका कारण धेरै विद्यार्थी उच्च शिक्षा भर्ना, रोजगारीका अवसर, प्रवेश परीक्षा, छात्रवृत्ति तथा विदेश अध्ययनका प्रक्रिया अगाडि बढाउन नसकेको गुनासो गर्छन्।

परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०८२ साल भदौ र कात्तिकमै आवेदन फारम संकलन गरे पनि परीक्षा तालिका भने २०८३ वैशाख ३ गते मात्र सार्वजनिक गरेको थियो। त्यहीअनुसार जेठ महिनामा परीक्षा सञ्चालन गरिएको थियो। आंशिक र मौका परीक्षा एउटै समयमै लिइएको थियो।

विद्यार्थीहरूले असारभित्रै नतिजा आउने अपेक्षा गरेका थिए। तर हालसम्म परिणाम सार्वजनिक नभएपछि त्रिविको परीक्षा व्यवस्थापनमाथि फेरि प्रश्न उठेको छ।

यता परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले भने नतिजा प्रकाशनको तयारी भइरहेको बताएका छन्। उनका अनुसार जेठको अन्त्यतिर परीक्षा सकिएकाले अहिले उत्तरपुस्तिका परीक्षण तथा अन्य प्रक्रिया जारी छ। सके साउनमै, नभए भदौभित्र नतिजा सार्वजनिक गर्ने तयारी रहेको उनको भनाइ छ।

यद्यपि, ठ्याक्कै कुन मितिमा नतिजा आउने भन्ने विषयमा भने परीक्षा नियन्त्रण कार्यालयले कुनै निश्चित समयसीमा सार्वजनिक गरेको छैन। विद्यार्थीहरू भने अब थप ढिलाइ नगरी नतिजा सार्वजनिक गर्न त्रिभुवन विश्वविद्यालयसँग माग गरिरहेका छन्।