काठमाडौं । वृद्धभत्तासहित सबै सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीले असोज मसान्तभित्र सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्नुपर्ने भएको छ। महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले सूचना जारी गर्दै समयमै नवीकरण गर्न आग्रह गरेको हो।

नवीकरणका लागि लाभग्राही आफ्नो वडा कार्यालयमा स्वयं उपस्थित भई जैविक ९बायोमेट्रिक० पहिचानका आधारमा प्रक्रिया पूरा गर्नुपर्नेछ। अस्थायी बसोबासमा रहेका व्यक्तिले भने बसोबास गरिरहेको वडाबाटै नवीकरण गर्न सक्ने व्यवस्था गरिएको छ।

मन्त्रालयका अनुसार नवीकरण राष्ट्रिय परिचय नम्बरका आधारमा गरिनेछ। तर १६ वर्षमुनिका बालबालिका, आफ्नै हेरचाह गर्न नसक्ने अशक्त व्यक्ति र ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकका लागि राष्ट्रिय परिचय नम्बर अनिवार्य नहुने व्यवस्था यथावत् राखिएको छ।

मन्त्रालयले अन्तिम समयमा भीडभाड हुन नदिन समयमै वडा कार्यालयमा पुगेर नवीकरण गराउन पनि सबै लाभग्राहीलाई अनुरोध गरेको छ।