काठमाडौं। प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले रुपन्देहीमा सञ्चालन भइरहेको बालसुधार गृह बालबालिकाका लागि उपयुक्त नभएको निष्कर्ष निकाल्दै तत्काल अर्को भवनमा स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिएको छ।

रुपन्देहीस्थित बालसुधार गृहको वर्तमान भवन साँघुरो र बालबालिकाका लागि सुरक्षित तथा व्यवस्थित वातावरण दिन नसक्ने अवस्था रहेको भन्दै प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले तत्काल स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिएको हो।

समितिले हाल प्रयोगविहीन रहेको जिल्ला समन्वय समिति रुपन्देहीको भवनमा बालसुधार गृह सार्न सम्बन्धित मन्त्रालयहरूलाई आवश्यक समन्वय गरी प्रक्रिया अघि बढाउन भनेको छ। साथै अहिले बालसुधार गृह रहेको भवन जिल्ला समन्वय समितिलाई नै फिर्ता गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ।

समितिका अनुसार स्थलगत अनुगमनका क्रममा बालसुधार गृहमा भौतिक पूर्वाधारको अभाव, क्षमताभन्दा बढी बालबालिकाको चाप, शिक्षा, स्वास्थ्य, पोषण, मनोसामाजिक सेवा तथा दक्ष जनशक्तिको कमी लगायतका समस्या देखिएका छन्।

बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले प्रतिवेदनका कार्यान्वयनयोग्य सुझावहरूलाई प्राथमिकताका साथ चरणबद्ध रूपमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरिन्। सरकारले बालसुधार गृहलाई सुरक्षित, व्यवस्थित र बालमैत्री बनाउँदै बालअधिकार संरक्षण र प्रभावकारी बाल न्याय प्रणाली सुनिश्चित गर्ने पनि उनले बताइन्।