काठमाण्डौ  । भारतमा लोकसभाको सात चरणको मतदान आज सकिएसँगै विभिन्न एक्जिट पोलले भारतीय जनता पार्टी नेतृत्वको गठबन्धनले अत्यधिक बहुमत ल्याउने अनुमान गरेका छन्। एक्जिट पोलले बिजेपी नेतृत्वको एनडीए गठबन्धनले करिब ३५० सिट जित्ने अनुमान गरेका छन्। ५४३ सदस्यीय लोकसभामा बहुतका लागि २७२ सिट आवश्यक पर्दछ।IMG-20240417-WA0001

२०१९ को लोकसभामा बिजेपीले २९३ सिट जितेको थियो भने एनडीए गठबन्धनले ३४२ सिट जितेको थियो। यस निर्वाचनमा पनि एक्जिट पोलले एनडीएले २०१९ को भन्दा बढी सिट जित्ने अनुमान गरेका छन्।

न्युजनेसनको एक्जिट पोलले एनडीएले ३४२ देखि ३७८ सिट जित्ने अनुमान गरेको छ भने इण्डिया गठबन्धनले १५३ देखि १६९ सिट जित्ने अनुमान गरेको छ। त्यसैगरी इण्डिया न्यूजको एक्जिट पोलले एनडीएले ३७१ सिट जित्ने अनुमान गरेको छ भने इण्डिया गठबन्धनले १२४ सिट जित्ने अनुमान गरेको छ।

त्यस्तै रिपब्लिक म्याट्रिजको एक्जिट पोलले एनडीएले ३५३ देखि ३६८ सिट जित्ने अनुमान गरेको छ भने इण्डिया गठबन्धनले ११८ देखि १३३ सिट जित्ने अनुमान गरेको छ। त्यस्तै इण्डिया टुडे-एक्सिस एक्जिट पोलले एनडीएले करिब ३३१ सिट जित्ने अनुमान गरेको छ भने इण्डिया गठबन्धनले करिब १९५ सिट जित्ने अनुमान गरेको छ।

विभिन्न एक्जिट पोलले उत्तर प्रदेश, विहार जस्ता ठुला राज्यमा बिजेपीले नै धेरै सिट जित्ने अनुमान गरेका छन्। सात चरणमा सम्पन्न लोकसभा निर्वाचनको नतिजा जुन ४ मा अर्थात आगामी मंगलबार आउँदै छ।