सर्लाही, । सर्लाहीको बागमती नगरपालिका–पुतलीचोक क्षेत्रमा अवैध यौनधन्दा संचालन भइरहेको गुनासो बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तत्काल कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ध्यानाकर्षण पत्र बुझाएको छ।
रास्वपा सर्लाहीका जिल्ला सभापति सरोज बानियाँका अनुसार, स्थानिय नागरिक र सञ्चारकर्मीहरूले बारम्बार इलाका प्रहरी कार्यालयमा जानकारी गराउँदा पनि बेवास्ता भएकाले बाध्य भएर जिल्ला प्रशासनमार्फत औपचारिक रूपमा ध्यानाकर्षण गराइएको हो।
हामीसँगको संवादमा सभापति बानियाँले भने, “ध्यानाकर्षण पत्रमा पुतलीचोकमा भइरहेको अवैध क्रियाकलापबारे स्पष्ट रूपमा उल्लेख छ। राजमार्गका होटलहरूबारे कुनै कुरा उल्लेख गरिएको छैन, न त म त्यहाँका गतिविधिबारे जानकार छु।”
तर, केही सञ्चारमाध्यममा राजमार्ग क्षेत्रसमेत समेटिएको समाचारबारे बानियाँले प्रतिक्रिया दिँदै भने, “हरेक समाचारको जिम्मेवारी म लिन सक्दिन, जुन कुरा मैले पत्रमा लेखेको छैन त्यो विषयमा म बोल्दिन।”
बानियाँद्वारा बुझाइएको ध्यानाकर्षण पत्रमा यौनधन्दा मात्र नभई सर्लाहीका विभिन्न स्थानमा भइरहेका ट्रान्सफर्मर चोरीको विषयसमेत उल्लेख गरिएको छ।






































