दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिकामा दुई लाख २० हजार रुपैयाँको सरकारी अनुदान हिनामिना गर्नका लागि आफ्नै समूहका सदस्यहरूलाई मृत घोषणा गरिएको खुलासा भएको छ। यस घटनामा संलग्न रहेको आरोपमा शैल्यशिखर नगरपालिका–६ का ‘मालिकार्जुन कृषक अगुवा समूह’का अध्यक्ष तथा नगरप्रमुख विजय सिंह धामीका २८ वर्षीय छोरा जनकसिंह धामी र कृषि शाखाका प्रमुख दीपकराज विष्ट (२४) पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय, दार्चुलाका अनुसार अध्यक्ष धामीले आफ्नै समूहकी सचिव मञ्जु धामी र कोषाध्यक्ष जानकी धामीको मृत्यु भएको भन्दै नक्कली मृत्यु प्रमाणपत्र बनाएका थिए। आर्थिक वर्ष २०८१/८२ मा नगरपालिकाले ओखर विकास कार्यक्रमअन्तर्गत उक्त समूहलाई २ लाख २० हजार रुपैयाँको अनुदान दिने सम्झौता गरेको थियो।
तर, वर्षको अन्त्यमा अन्य समूहहरूले काम सम्पन्न गरे पनि धामीको समूहले कुनै प्रगति देखाउन सकेन। योजना कार्यान्वयन नगरी रकम उठाउने प्रयासस्वरूप धामीले यस्तो षड्यन्त्र रचेका थिए, जसमा कृषि शाखा प्रमुख विष्टले पनि सहयोग गरेको प्रहरीले जनाएको छ।
घटना त्यतिबेला उजागर भयो जब जनकसिंह धामी र दीपकराज विष्ट अनुदान खाताको नवीकरण गर्न ग्लोबल बैंक, शैल्यशिखर बजार पुगे। उनीहरूले सचिव र कोषाध्यक्षको मृत्यु भएको कागजात पेश गरेपछि बैंकका कर्मचारीलाई शंका लाग्यो। सोधपुछ र थप अनुसन्धानपछि ती दुवै महिला जीवितै रहेको खुल्न आएको थियो।
जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश दाहालका अनुसार घटनाबारे असार २५ गते प्रारम्भिक सूचना आएपछि सूक्ष्म अनुसन्धान सुरु गरिएको थियो। प्रमाण जुटेसँगै साउन ७ गते दुवै जनालाई पक्राउ गरिएको हो।
उनीहरूविरुद्ध सरकारी कागजात कीर्ते, झुटो विवरण पेश तथा विश्वासघातको अभियोगमा मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।