काठमाडौं। देशभर लगातार परेको वर्षाले बाढी, पहिरो, चट्याङ र अन्य विपद्का घटना बढेका छन्। पछिल्लो २४ घण्टामै ५८ वटा विपद्का घटना हुँदा ३ जनाले ज्यान गुमाएका छन् भने दर्जनौँ घाइते भएका छन्। प्रशासनले उच्च जोखिम क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।

साउन २ गते साँझदेखि निरन्तर वर्षा भइरहेका कारण देशका विभिन्न जिल्लामा विपद्का घटना बढ्दै गएका छन्। प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा बाढी, पहिरो, आगलागी, चट्याङ र सर्पदंशलगायतका ५८ घटना भएका छन्।

खोटाङमा बाढीले दुई जनाको ज्यान लिएको छ भने दोलखामा सर्पदंशबाट एक जनाको मृत्यु भएको छ। सोही अवधिमा १३ जना घाइते भएका छन् भने एक जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

विपद्का घटनाबाट करिब २३ लाख ६६ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान छ। यसैबीच, वैशाखयता मात्रै देशभर विपद्का कारण १६८ जनाले ज्यान गुमाइसकेका छन् भने हजारौँ नागरिक प्रभावित भएका छन्। लगातारको वर्षा अझै जारी रहेकाले बाढी र पहिरोको जोखिम उच्च रहेको भन्दै सुरक्षा निकायले नदी किनार र पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।